काठमाडौँ । साझा यातायातले नेपालमा पहिलो पटक सुविधा सम्पन्न बिजुली बस चलाउन सुरु गर्दैछ । साझाले आजदेखि काठमाडौँ उपत्यकामा बिजुलीबाट चल्ने तीन वटा बस चलाउने भएको हो ।
रत्नपार्क, ठमेल नयाँ बसपार्क हुँदै एयरपोर्ट रुटमा २ वटा बस चल्ने छन् भने लगनखेल, रत्नपार्क हुँदै बुढानीलकण्ठ रुटमा अर्को बस गरी तीन वटा चल्नेछ ।
बसका चालक र सहचालक महिला हुने कम्पनीले जनाएको छ । बस अपाङ्गतामैत्री छ । अपाङ्गता भएकाहरुले ह्वीलचियरसहित सजिलै यो बस चढ्न सक्ने जनाइएको छ ।
यस्तै, बसमा सीसीटीभी, टीभी, वाइफाई, डस्बिन र बस रोक्न विशेष खालको बटमको सुविधा रहेको साझाले जनाएको छ ।
बसमा १ सय ६१ दशमलव २८ किलो वाटको ब्याट्रीको प्रयोग गरिएको छ । बस ४५ किलोवाटको चार्जमा ५ घण्टा चार्ज गर्दा २ सय किलोमिटर गुड्न सक्ने साझाका प्रमुख कार्यकारी अधिकृत महेन्द्र पाण्डेले बताएका छन् ।
उनकाअनुसार चीनबाट ल्याउन लागिएको ४० मध्ये अहिले तीन वटा बस मात्रै नेपाल आएका छन् । आएका तीन वटै बस आजदेखि चलाउन लागिएको हो ।
अन्य बाँकी बस चीनमा बन्दै गरेको र क्रमशः नेपाल आउने उनले बताए । एउटा बसको झण्डै डेढ करोड रुपैयाँ परेको उनले जानकारी दिए । साझाले विद्युतीय बस खरिद गर्न गत चैत १३ गते ग्लोबल टेन्डर आह्वान गरेको थियो ।