ललितपुर । ०७९ असार ३० गते २०७९ सालको श्री नृसिंह जात्रा अवलोकन तथा जनै पूर्णिमाको दिन श्रावणीकर्म गर्नको लागि राष्ट्र प्रमुखलाई निमन्त्रणा गर्ने कार्यक्रम ०७९ असार २९ गते गुरु पूर्णिमाको दिन सम्पन्न भएको छ ।
यसभन्दा अघि गुठी संस्थान लालितपुरका प्रमुखको उपस्थितिमा सुन्दरी चोकस्थित तत्कालिन मल्ल राजा श्री सिद्धिनरसिंह मल्लको (ढुंगाको खाट)पाषाण शैय्यामा फूल चढाई निम्तो दिने गरिएकोमा यो वर्षदेखि स्थानीय सरकारसँग समन्वय बढाइएको समितिले जानकारी दिएको छ । नृसिंह जात्रा व्यवस्थापन समितिका अध्यक्ष भुषणनाथ शर्माका अनुसार यस वर्ष ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, उपमेयर मञ्जली शाक्य (आश्था), गुठी संस्थान केन्द्रका प्रमुख किरण शाक्य, ललितपुर शाखाका प्रमुख हरि सुवेदीलाई पनि निमन्त्रण दिइएको छ । त्यसै गरी श्री नृसिंह जात्राको परिक्रमा गरिने ललितपुर महानगरको सम्बन्धित वडाका वडाध्यक्षहरु ५ का विकासमान श्रेष्ठ, ६ का उपेन्द्र शाक्य, ११ का अरोज कुमार खड्गी, १२ का नारायण अवाले, १६ का निर्मलरत्न शाक्य, १९ का राजेन्द्र महर्जन, २० का चन्द्रलाल मर्हजनलाई पनि निमन्त्रणसहित जानकारी दिइएको छ ।
त्यस्तै, पाटन दरवार हेरचाह कार्यलय प्रमुख र पाटन संग्राहलय प्रमुखको उपस्थितिमा स्वस्तिवाचन सहित सो कार्यक्रम सम्पन्न गरिएको थियो ।
उपाकर्म गुठी ललितपुरका यस वर्षका पालोवाला केदार ज्वालानन्द राजोपाध्यायले फूल चढाउने परम्परा प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने उपाकर्म, यज्ञोपवीत धारणसम्बन्धी प्रक्रिया, ऋषितर्पणी र रक्षाबन्धनको पृष्ठभूमी बारे प्रकाश पार्नु भएको थियो । उपाकर्म गुठी व्यवस्थापन समितिका उपाध्यक्ष सञ्जय शर्मा राजोपाध्यायले उपाकर्म गुठी र नृसिंह जात्रा बारे प्रकाश पार्नु भएको थियो ।
त्यस्तै गरी श्री नृसिंह जात्रा व्यवस्थापन समितिका अध्यक्ष भूषण नाथ शर्माले उपस्थित नवनिर्वाचित तथा नवनियुक्त हुनुभएका जनप्रतिनिधि तथा प्रमुखहरुलाई बधाई ज्ञापन तथा कार्यकाल सफलताको शुभकामना दिनुका साथै कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाईदिनु भएकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो।
त्यसतै गरी पहिलो पल्ट सुरु गरिएको सो निमन्त्रणा गर्ने कार्यक्रमको अर्को चरणमा राष्ट्रपति भवनमा गई राष्ट्रपति विद्यादेवी भण्डारीलाई निमन्त्रणा गर्ने क्रममा सम्माननीय राष्ट्रपतिज्यूको स्वास्थ प्रतिकुलताको कारण उहाँको स्वकीय सचिव लगायतका महानुभावहरुको उपस्थितिमा राष्ट्रप्रमुखलाई श्रावणीकर्म तथा श्री नृसिंह जात्राको लागि निमन्त्रणा गरिएको थियो ।
स्वस्तिवाचन सहित गुठीको परम्परा बारे प्रकाश पार्दै निमन्त्रणा गरिएकोमा सम्माननीय राष्ट्रपतिज्यूका स्वकिय सचिव लगायतका महानुभावहरुबाट अनुकुल मिलेसम्म जात्रा अवलोकन गर्न राष्ट्रपतिको सवारी हुने सङ्केत गर्नु भयो ।
यस वर्षको श्री नृसिंह जात्रा २०७९ साल साउन ३१ गते मंगलबार परेको समितिले जानकारी दिएको छ ।
ललितपुरका मल्ल राजा सिद्धिनरसिंहको पालादेखि हुँदै आएको ऐतिहासिक नरसिंह जात्रा हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन गर्ने परम्परा छ।
जात्रामा भगवान नृसिंहसँंगै लक्ष्मी र सरस्वतीलाई देवीको रुपमा राखिएको पाइन्छ भने प्रह्लादले जात्रा अवधिभर नै भगवान नृसिंहको सेवा गरिरहेको देख्न्न पाइन्छ । जात्रामा अप्सराहरूले कुचोले बढार्ने, गोरसद्वारा मार्ग सिञ्चन गर्ने, लावाले मार्गलाई सम्मान गर्ने, चवरपंखले हम्कने र दण्डद्वारा बाटोको सुरक्षा गरेका दृश्य जात्राका आकर्षण हुन् ।
विक्रम सम्वत १६८८ देखि यो जात्रा सञ्चालन भइरहेको लिखित दस्ताबेज छ भने जात्रा त्यो भन्दा पुरानो हुन सक्ने समितिले अनुमान गरेको छ । विभिन्न टोल परिक्रमा गरी स्वठमा आएर जात्रा सकिनेछ । यस जात्रामा पालोवाला पुरोहित वा उनका ज्वाइँ वा भान्जामध्ये एकजना नरसिंह बनेर नगर परिक्रममा गर्ने चलन रहेको छ ।
फाइल तस्वीर