ललितपुर

करार कर्मचारी हटाएपछि महाङ्कालमा विरोध, सङ्घर्ष समितिद्वारा ज्ञापनपत्र बुझायो

ललितपुर।  देशका अधिकांश स्थानीय तहका जनप्रतिनिधि यतिबेला अघिल्लो कार्यकालमा नियुक्त भएका करारका कर्मचारीलाई धमाधम हटाउन थालेका छन्।

यसैबीच दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकाले पनि वर्षौंदेखि करारमा काम गरिरहेका कर्मचारीलाई कुनै आधार नखुलाई र परीक्षासमेत नलिई कर्मचारीलाई हचुवाका भरमा बिदा गर्न थालेको भन्दै वर्खास्त गरिएका कर्मचारी र नेकपा एमाले लगायतले कडा विरोध गरेका छन् ।

यसैबीच वर्खास्त गरिएका कर्मचारीले अविलम्ब आफूहरुलाई पुनर्वाहाली गर्दै सम्झौता नवीकरण गर्न भन्दै गाउँपालिका अध्यक्ष गणेश बहादुर केसी र उपाध्यक्ष डोल्मा माया गोलेलाई ज्ञापनपत्र समेत बुझाएका छन्।

असार २७ गते बसेको महाङ्काल गाउँपालिकाको बोर्ड बैठकले कर्मचारी व्यवस्थापनको लागि भन्दै दरबन्दी नभएका केही कर्मचारीको सम्झौता नवीकरण गर्दै सशर्त कार्यक्रममा परेका कर्मचारीलाई भने हटाउने निर्णय गरेको थियो । गाउँपालिकाले कृषि तथा भेटरिनरी शाखाका प्राविधिक कर्मचारीहरु, गाउँपालिका केन्द्र र निरन्तर १० वर्षसम्म काम गरेका बाहेकका सम्पूर्ण कार्यालय सहयोगीहरुसंगको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको छ।