ललितपुर। ललितपुर महालक्ष्मी नगरपालिका-८ लुभुका ५४ वर्षीय श्यामकृष्ण श्रेष्ठ सोमबार जिल्ला प्रहरी परिसर ललितपुरबाट हाजिर जमानीमा छुटे। गत असार १३ गते दिउँसो साढे २ बजे उनी पक्राउ परेका थिए। उनले चलाएको प्रदेश नम्बर ३_०२_०१२ प ६२४१ नम्बरको स्कुटरमा पेस्तोल भेटिएपछि प्रहरीले उनलाई इमाडोलबाट पक्राउ गरेको थियो। उनीबाट दुई राउन्ड गोली समेत बरामद गरेको थियो।
उनी लुभुकै सहयोगी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका व्यवस्थापक समेत हुन्। स्कुटर चढेर लगनखेलको मालपोत कार्यालयमा गएर बेला प्रहरीलाई आएको फोनको आधारमा प्रहरीले श्यामकृष्णलाई फेला पारी अनुसन्धान अघि बढाएको थियो। तर यसबारे श्यामकृष्णलाई केही थाहै नभएको र अरूले नै फसाएको हुनसक्ने उनले बताएका थिए।
परिसरका प्रवक्ता प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहका अनुसार सो स्कुटरको दुइटा चाबी छ। जसमध्ये एउटा उनैले बोक्थे भने अर्को सहकारीका अध्यक्षले।
अनुसन्धान गर्दै जाँदा लुभुका ४३ वर्षीय सहकारीका अध्यक्ष अनिल श्रेष्ठ पनि तानिएको प्रहरी उपरीक्षक शाहले बताए। अनिलसँग पनि चाबी भएको र गतिविधिले गर्दा पनि स्कुटरको डिकी खोलेर उनैले पेस्तोल र गोली राखेको हुनसक्ने आधार बलियो भएको प्रहरीको भनाइ छ।
यसमा थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ।