ललितपुर

स्वास्थ्यकर्मी निकाल्दा आश्राङ हेल्थपोस्टका ५ अत्यावश्यक सेवा बन्द

ललितपुर । दक्षिण ललितपुरको बाग्मती गाउँपालिकाले  विभिन्न शाखाका ११ जना करार कर्मचारीहरुलाई हटाउने निर्णय गरेपछि उक्त प्रकरण विवादमा मात्र परेको छैन, दैनिक सेवा प्रवाहमा समेत बाधा पुगेको छ ।

बाग्मती ६ आश्राङमा अवस्थित हेल्थपोस्टमा लामो समयदेखी कार्यरतलाई  गाउँपालिकाले हटाएपछी दैनिक रुपमा सञ्चालन भईरहेका ५ वटा सेवा बन्द भईरहेका छन् ।

हेल्थपोस्टमा सेवा लिन पुगेकी आश्राङकी एक महिलाले गाउँमा रहेको स्वास्थ्य संस्थाबाट सेवा लिन नपाएपछी वर्षाको समयमा खराब सडकको बाटो हिँड्दै पाटन पुग्नुपरेको गुनासो गरिन ।

हेल्थपोस्ट प्रशासनका अनुसार अनुभवी कर्मचारी हटाउँदा सुरक्षित मातृत्व, मासिक तथा वार्षिक प्रतिवेदन, सुरक्षित गर्भपतन,परिवार नियोजन,स्त्रीरोग सम्बन्धी सेवा बन्द भएका हुन् । हेल्थपोस्टका अहेव उद्धव घिमिरेले अनुभवी कर्मचारीलाई हटाउँदा अब त्यही लेभलको कर्मचारी तयार पार्न लामो समय लाग्ने गाउँपालिकाले यस्तो निर्णय गर्नु दु: खद भएको गुनासो गरे ।