विविध

ज्वाला नरसिंह मन्दिर पुनःनिर्माणमा ढिलाइ

ललितपुर । ललितपुर पाटन दरबार परिसरमा रहेको ज्वाला नरसिंह मन्दिर पुनःनिर्माण अलपत्र अवस्थामा रहेको छ । विसं २०७२ को गोरखा भूकम्पले क्षतिग्रस्त बनाएको सो मन्दिरका लागि आवश्यक सामग्रीको समयमै जोहो गर्न नसक्दा अझै अन्योलको अवस्थामा रहेको हो ।

मन्दिर पुनः निर्माणमा १०० बढी प्रकारका नयाँ इँटा चाहिने हुँदा बनाएर ल्याइएका तीनदेखि चार थरिका इँटासमेत नमिलेर पुनः बनाउन दिँदा मन्दिरको काम अघि बढ्न नसकेको मङ्गल टोल सुधार सङ्घका अध्यक्ष किरणमान प्रधानले गुनासो गरे ।
सो मन्दिर मर्मत सुधार र संरक्षण गर्न यसअघिको कार्यकालमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले रु २० लाख दिएको सङ्घका सचिव रवि दर्शनधारीले बताए । सो मन्दिर पुनःनिर्माणको लागि गत वर्षको पुस २९ गते क्षमापूजा गरिएको थियो ।

उक्त मन्दिर भत्काएपछि त्यहाँका सबै सामग्री आफूहरुले सुरक्षित पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयमा राख्ने जानकारी गराइएको छ । मन्दिर निर्माण थालिने सोच बनाएसँगै आवश्यक नयाँ इँटा बनाउनका लागि नयाँ साँचोसमेत बनाउन निकै समय खर्च भएको प्रधानले जानकारी गराए ।

नरसिंह मन्दिरको महिमा हरेक वर्ष कात्तिक शुक्लपक्ष त्रयोदशीका दिन पाटन कृष्ण मन्दिर नजिकै रहेको ‘कात्तिक डबली’ मा मञ्चन गरी प्रदर्शनसमेत गर्ने गरिन्छ । विश्वकै लामो नाट्य महोत्सवका रूपमा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो ‘नृसिंह’ भगवान्मा आधारित नृत्य अघि बढाएका हुन् ।