ललितपुर

स्कुटरलाई ठक्कर दिएर भागेको गाडी चालक पक्राउ

ललितपुरको बालकुमारीमा स्कुटरलाई ठक्कर दिएर भागेको गाडी चालकलाई प्रहरीले पक्राउ गरेको छ। सोमबार बिहान ललितपुर महानगरपलिका-८ बालकुमारीमा कोटेश्वरबाट सातदोबाटो जाँदै गरेको गाडीले बा ४५ प १३४५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको हो । त्यसमा सवार एक जना घाइते समेत भएका छन् ।

यस घटनामा संलग्न गाडी चालक सिन्धुपालचोक बलेफी गाउँपालिका(६ बस्ने २६ वर्षीय रेलबहादुर मगरलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक अंगुर जिसीले जानकारी दिए। उनलाई भक्तपुर सल्लाघारीबाट नियन्त्रणमा लिएको हो।

गाडीले ठक्कर दिएको दुई जना घाइतेलाई उपचारको लागि ग्वार्कोस्थित बिएन्डबी अस्पतालमा उपचारको लागि पठाएको छ। त्यहाँ उपचारको क्रममा चितवन घर भई ललितपुरको धोबीघाट बस्ने २३ वर्षीया रेखा थापाको मृत्यु भएको हो। उनको स्कुटर पछाडि सवार २३ वर्षीया शकुन्तला घर्तीको बिएन्डबी अस्पतालमा उपचारपछि ट्रमा सेन्टर पठाएको छ।

घटनामा संलग्न गाडीको खोजी गर्न सिसिटिभी फुटेजलाई अध्ययन गरी र घटनास्थल नजिकैका स्थानीयहरूसँग खबर संकलन गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ।

अनुसन्धानबाट प्रदेश ३-०१-०२२ च ९१७९ नम्बरको गाडीले ठक्कर दिएको खुलेपछि प्रहरीले गाडीसहित चालकलाई पक्राउ गरेको हो।