ललितपुर। दक्षिण ललितपुरको बागमती गाउँपालिकाले स्थानीय निर्वाचन बाट जनप्रतिनिधि निर्वाचित भएको केही समयमा नै चालेका केही विवादास्पद कदमप्रति ध्यानाकर्षण जनाउँदै प्रतिपक्षी दल नेकपा एमालेले गाउँपालिकालाई ध्यानाकर्षण सहितको ज्ञापनपत्र बुझाएको छ।
सोमबार गाउँपालिकामै पुगेर एमाले गाउँपालिका कमिटि इन्चार्ज साजन दर्लामी मगर, पालिका कमिटि अध्यक्ष नवराज सञ्जेल, उपाध्यक्ष राजकुमार तिमल्सिना, सचिव लाल बहादुए भोम्जन लगायतको उपस्थितिमा गाउँपालिका प्रमुख वीर बहादुर लोप्चन, उपाध्यक्ष भक्त बहादुर दर्लामी, प्रमुख प्रशासकीय अधिकृत खम्बराज राई लगायतलाई ज्ञापन पत्र बुझाएका हुन्।
ज्ञापन पत्रमा जनप्रतिनिधिको कार्यकालको सुरुवाती चरणमै पालिकाले चलेका केही पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै बोर्ड बैठकको हवाला दिई गरिएका केही निर्णयहरु समग्र पालिकाको वर्तमान वस्तुस्थिति प्रति पेचिलो र गाउँपालिकाको विकासमा आँच आउने खालको भएको उल्लेख गरिएको छ। ज्ञापनपत्रमा भनिएको छ,’जनताको दैनिकी संग जोडिएका यस्ता विषय र वैयक्तिक जीवनको सम्मान तथा कार्यरत कर्मचारीमा त्रास सिर्जना गरी दैनिक कार्यसम्पादनमा सिधै डर र त्रास लिई काम गर्नुपर्ने वातावरण भएको र कर्मचारीले ढुक्क मनले कार्यसम्पादन गर्न नसकेको भनी गुनासो बढेकोले यसप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।’