स्वास्थ्य

१७ वटा अस्पतालमा निःशुल्क उपचार

काठमाडौँ । नेपालमा कोभिड–१९ को संक्रमण बढेसँगै पछिल्लो २४ घण्टामा ८ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । कुल ५ हजार ९ सय ९ जनामा नमुना परीक्षण गरिएकोमा ८ सय ९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जारी गरेको तथ्यांकमा उल्लेख गरेको छ ।

सोमबार २ सय ६४ जना कोरोना संक्रमणको रिपोर्ट नेगेटिभ आएका डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयको सोमबारको तथ्यांकअनुसार हालसम्म ४ हजार ९ सय ३४ जना सक्रिय संक्रमित रहेका छन् ।

दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएसँगै नेपाल सरकारले कोभिड–१९ संक्रमितको निःशुल्क उपचारका लागि १७ वटा अस्पतालहरू तोकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सार्वजनिक गरेको सूचनामा ३१ असारको निर्णयानुसार निःशुल्क उपचारका लागि देशभर १७ वटा अस्पताल तोकिएको उल्लेख गरेको छ ।

तोकिएका अस्पतालहरूमा कोभिड–१९ का मध्यम तथा गम्भीर बिरामीको निःशुल्क उपचार हुने मन्त्रालयले जनाएको छ । सबैभन्दा बढी वागमती प्रदेशमा शुक्रराज ट्रपिकल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, भरतपुर अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान तोकिएको छ ।

त्यस्तै, प्रदेश १ मा विराटनगरस्थित कोशी अस्पताल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, मधेश प्रदेशमा प्रादेशिक अस्पताल जनकपुर अस्पताल, नारायणी अस्पताल, वीरगन्ज अस्पताल तोकिएको छ ।

गण्डकीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र वागलुङको धौलागिरि अस्पताल, लुम्बिनी प्रदेशमा बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल र नेपालगन्जको भेरी अस्पताल, कर्णालीमा प्रादेशिक अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला तोकिएका छन् ।

त्यस्तै, सुदूरपश्चिममा सेती प्रादेशिक अस्पताल, कैलाली र डडेलधुरा अस्पताल निःशुल्क उपचारका लागि व्यवस्थापन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोभिड संक्रमितको उपचारबापत तोकिएका अस्पतालहरूलाई बिरामीको अवस्थाअनुसार अनुदान दिने व्यवस्था सरकारले गरेको जारी सूचनामा उल्लेख गरिएको छ ।