ललितपुर

थेचो नबदुर्गा भवानीको १२ वर्ष मेलाको लागी बल्चा (छाप्रो) बनाउने कार्य सम्पन्न

ललितपुर । थेचो नबदुर्गा भवानीको १२ वर्ष मेलाको लागी मन्दिरको मुल डबलीमा निर्माणाधीन बल्चा (छाप्रो) बनाउने कार्य सम्पन्न भएको छ ।

नवदुर्गा भवानीदेवी गुठीका अध्यक्ष धर्मराज मालीले छाप्रोमा बसेर जात्राको तयारी गरिने बताए । उनले भने, यहाँ बसेर श्वेत भैरव नाचलगायत नाचको प्रशिक्षणलगायतका काम गरिन्छ ।

उनका अनुसार गथामुग चह्रेका दिन मन्दिरमा लगाइएको ताल्चा एक महिनापछि खोलिन्छ र त्यसपछि साइत हेरेर तीनपानेबाट काठ ल्याइन्छ । मुख्य जात्रा भने दशैतिरबाट मात्र सुरु हुन्छ । फुलपातीमा यज्ञ र बली दिइन्छ भने कोजाग्रत पूर्णिमाको भाेलीपल्ट भोज खुवाइन्छ ।

जात्रा यसै वर्षको चैत्रतिर समापन हुन्छ । ३४ जना परिवार सदस्य रहेको गुठीले यो जात्रा आयोजना गर्ने गर्दछ ।