विविध शिक्षा

ललितपुरको माछापुच्छ्रे स्कुलले पायाे व्यवहारीक शिक्षाको मान्यता

ललितपुर, ३ भदौ/  ललितपुर महानगरपालिका वडा नं १३ कुसुन्तीमा अवस्थित माछापुच्छ्रे स्कुलले इन्टरनेश्नल व्याकारलेरियट (आइबी वल्ड) अर्थात व्यवहारीकका साथै खोजमुलक शिक्षा प्रदान गर्ने मान्यता पाएको छ ।
विद्यार्थीलाई कक्षाकोठामा मात्र सिमित नगरी जीवन र जगतसँग समेत जोडाउने उद्देश्यका साथ विद्यालयले उक्त काम अघि बढाउने भएको हो ।
केही दिन अघि मात्रै आफूहरुले सो मान्यता पाएसँगै बालबालिकाको सिकाइ क्षमता र सिक्ने स्वभावको पहिचान गरी सोहि अनुरुप अन्तरराष्ट्रिय स्तरको शिक्षा प्रदान गराउने भएको विद्यालयका प्रधानाध्यापक अजबहादुर केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालयमा रटाउने प्रणाली विकास भयो भने भोली कयौँ बालबालिका युवा भएपछि बेरोजगारी तर्फ धकेलिनेछन् त्यसैले अबको दिनमा मानव भएर बाँचन सिकाउने मानवीय शिक्षाको जरुरी छ ।”
सो किसिमको शिक्षा प्रणालीले विद्यार्थीमा प्रगतिशील दृष्टिकोणको विकास गरी उनीहरुको सहभागितमा ज्ञान निर्माण गराउन मद्धत गराउने विद्यालयका व्यवस्थापक निर्देशक डा. विनोदप्रसाद यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “यस कार्यक्रम मार्फत हामीले प्रयोगात्मक शिक्षालाई व्यवहारमा उतारी सामाजिक परिवर्तनको सम्बाहक बनाउने लक्ष्य लिएका छाैँ।”   सो विद्यालयमा बालबालिकाको उमेर सुहाउँदो वालमैत्री संरचना निर्माण गरी उक्त कार्यक्रम अघि बढाइने भएको यादवले जानकारी गराउनुभयो । सन् १९९५ मा स्थापना भएको सो स्कुलले उच्च गुणस्तरीय शिक्षामा विश्वसनीयता कायम गरेको विद्यालयको मानव संसाधन अधिकारी विनिता विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले प्रोग्रेसिभ अप्रोच अन्तर्गत बालबालिकामा उनीहरुकै सहभागितामा ज्ञान निर्माण गर्ने कार्य अघि बढाउनेछाैँ ।”