२०७९ भाद्र ५/ काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदिप गिरीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित नेता गिरीको शनिबार राति ९ः३० बजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा ७४ वर्षको उमेरमा निधन भएको उनका सहयोगी मन्दिप भारतीले जानकारी दिए ।
उनको उपचारमा संलग्न चिकित्सक तथा मेडिसिटी अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा पङ्कजकुमार बर्मनले पनि साँझ साढे नौ बजे उपचारका क्रममा नेता गिरीको निधन भएको जानकारी दिए ।
विगत लामो समय भारतको मुम्बइका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल आउनासाथ निमोनिया देखिएपछि उनलाई साउन ९ गते ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।
गिरिको पार्थिक शरीरलाई श्रद्धाञ्जलीका लागि नेपाल मेडिसिटी अस्पतालमा राखिने भएको छ। आज बिहान ९ बजे देखि ११ बजेसम्म अस्पतालको शिवालयमा पार्थिव शरीर राखिने नेपाली कांग्रेसले जनाएको छ।
मेडिसिटीपछि उनको पार्थिव शरीरलाई पार्टी केन्द्रीय कार्यालय सानेपा लगिनेछ। बिहान ११:३० बजेदेखि दिउँसो २ बजेसम्म सानेपामा श्रद्धाञ्जली अर्पण गर्न सकिनेछ। त्यसपछि गिरिको आजै पशुपतिमा अन्त्येष्टि गरिनेछ।