काठमाडौं । सहकारीको ठगी बढ्दै गएपछि सर्वसाधारणहरु आफ्नो बचत रहक लिन सहकारीको कार्यलयमा गएर लाइन नै बस्न थालेको छन् । देउराली बहुउदेश्यीय सहकारीले ५ लाखभन्दा धेरै सहकारीमा बचत गरेका बचतकर्ताको रकम तत्कालै फिर्ता गर्न नसकिने बताएको छ । सहकरीका अध्यक्ष रविन्द्र चौलागाँइले पत्रकार सम्मेलन नै गरेर संस्थामा सबै शिर्षकमा रहेका बचत रकमलाई दुइ भागमा विभाजन गरेर बचत फिर्ता गर्ने योजना सुनाएका छन् ।
उनले भने, ‘५ लाख सम्मको बचत रकमलाई साना बचतकर्ता र ५ लाख भन्दामाथीका लागि ठुलो बचतकर्ताको रुपमा विभाजन गरेर बचत फिर्ता गर्ने योजना छ । संस्थाको रकम दुरुपयोग भएको नभइ लगानी गरेका ठाउँहरुबाट रकम उठती नभएको कारण समस्या देखिएको हो । पहिलो ५ लाखसम्मका साना बचतकर्ताहरुलाई तत्कालै संस्थाको ३ ओटै काउन्टरबाट क्रमिक भुक्तानि गर्दै जाने र ५ लाख भन्दा बढी बचत रकम भएकाहरुलाई २ बर्ष भित्र सम्पुर्ण रकम फिर्ता गरिने छौं । ५ लाख बढीका निक्षेपकर्ताहरुले बचत सुरक्षणको लागि घडेरीको रुपमा विकास गरिएको टुक्रा जग्गा नामसारी गरि बचत रकम सुरक्षण गर्ने योजना छ ।’
कोरोना महामारीको असर, अर्थजगतमा निरन्तरको तरलता समस्या र आर्थिक मन्दीको प्रभाव स्वरुप देउराली बहुउदेश्यीय सहकारीमा केही समस्या आएको सहकारीले बताएको छ । तर सहकारीमा देखिएका समस्या भने हल हुने दिशामा रहेको संस्थाका अध्यक्ष चौलागाँइले बताएका छन् ।
करिव २० हजार सदस्यहरु रहेको देउराली बहुउदेश्यीय सहकारीले निक्षेपकर्ताहरुबाट ३ अर्ब बचत संकलन गरेको छ । हाल संस्था निक्षेपकर्ताहरुको ६५ करोड रकम फिर्ता गर्नुपर्ने अवस्थामा छ । संस्थाले प्रवाह गरेको कर्जा समयमा नै नउठेको र कोभिड लगायत देशमा प्रकट भएको आर्थिक मन्दीका कारण समस्या सिर्जेको अध्यक्ष चौलागाँइले बताएका छन् । ललितपुरको सातदोबाटोमा केन्द्रिय कार्यालय रहेको सहकारीको भक्तपुर र न्युरोड समेतमा गरि ३ वटा काउन्टर छन् ।