ललितपुर । नेपाल प्रेस युनियन ललितपुर शाखाले जिल्ला शाखाका संस्थापक अध्यक्ष स्वर्गीय बटुककृष्ण कार्कीको नाममा ‘बटुककृष्ण कार्की स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ ।
स्वर्गीय कार्कीले पत्रकारिता क्षेत्र र युनियनमा गरेको योगदानको उच्च मुल्याङ्कन गर्दै शुक्रबार उनको सम्झनामा उक्त पुरस्कार स्थापना गरिएको हो ।
सो पुरस्कार प्रत्येक वर्ष ललितपुर जिल्ला कार्यक्षेत्र बनाई काम गर्ने र गरिरहेका एक पत्रकारलाई प्रदान गरिने भएको युनियन ललितपुर शाखाका अध्यक्ष केदारनाथ दाहालले बताए । उहाँले भन्नुभयो, “यस पुरस्कार अन्तर्गत हामीले रु २५ हजार नगद राशि प्रदान गरी हरेक वर्ष सम्मान गर्नेछौँ ।” युनियनको कार्यसमितिले स्वतन्त्र व्यक्तिको कार्यदल बनाएर पत्रकार छनोट गरी कुनै राजनीतिक पूर्वाग्रह बिना पुरस्कार प्रदान गर्ने भएको दाहालको भनाइ छ ।