खेलकुद

साफ महिला च्याम्पियनशिप: नेपालले भुटानलाई ४-० ले हरायो

२०७९ भाद्र २१/ काठमाडौं । छैटौँ संस्करणको महिला साफ च्याम्पियनसी फुटबल अन्तर्गत उद्घाटन खेलमा नेपाल विजयी भएको छ । नेपालले भुटानलाई ४–० गोलअन्तरले पराजित गरेको हो ।

नेपालले पहिलो हाफमा एक गोल गरेको थियो । मध्यान्तरपछिको खेलमा नेपालले भुटानविरुद्ध थप तीन गोल गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा पहिलो हाफमा नेपालका लागि सावित्रा भण्डारीले गोल गरेकी थिइन् । उनले खेलको १२औँ मिनेटमा गोल गरेकी हुन् ।

मध्यान्तरपछि सावित्रा भण्डारीले एक तथा अनिता बस्नेतले दुई गोल गरेकी हुन् । भण्डारीले खेलको ६८औँ मिनेटमा तथा बस्नेतले खेलको ७३औँ र ८४औँ मिनेटमा गोल गरेकी हुन् ।

साफ च्याम्पियनसीपमा आयोजक नेपाललसहित भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र भुटान सहभागी छन् । सहभागी सातवटै राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारत, पाकिस्तान, बङ्गलादेश र माल्दिभ्स तथा समूह ‘बी’ मा नेपालसहित श्रीलङ्का र भुटान छन् ।