२०७९ भाद्र २९/ काठमाडौँ । आज बुधबार सेयर बजारमा उत्साहजनक वृद्धि देखिएको छ। नेप्से परिसुचक ४७.४६ को विन्दुले बढ्दै १९८१.५० पुगेर बजार बन्द भएको छ ।
सबै समूहको शेयर बढेकोमा फाइनान्स, विकास बैंक, माइक्रो फाइनान्स र उत्पादन समूहको शेयर उच्च अंकले उकालो लागेको छ । नेप्सेसँगै कारोबार रकममा पनि केही सुधार आएको छ । दुई सय २७ वटा कम्पनीका ४६ लाख १८ हजार कित्ता शेयर एक अर्ब ४५ करोड ३८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नविल बैंकको ६ करोड ५१ लाख रुपैयाँको शेयर किनबेच भएको हो ।
आज ग्रिन डेभलपमेन्ट बैंकको शेयर १० प्रतिशत तथा लिवर्टी इनर्जी कम्पनीको शेयर झण्डै साढे आठ प्रतिशतले बढेको छ । एनआईसी एसिया क्याप फण्डको शेयर १० प्रतिशतले घटेको छ ।
यस दिन होटल तथा पर्यटन, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। बैंकिङ, जीवन बीमा, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको नेप्सेले जानकारी दिएको छ।