समाचार

दर्ता नभएका मोबाइल अब नेपालमा नचल्ने

२०७९ भाद्र  ३० / काठमाडौँ । नेपाल दुरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस मेनेजमेन्ट सिस्टम(एमडिएमएस) लागु गरेसंगै अब नेपालमा अवैध रुपमा भित्रिने मोबाईलहरु नचल्ने भएका छन् । प्राधिकरणले आज एक सूचना प्रकाशित गर्दै एमडिएमएस लागु भएको जनाएको छ ।  

मोबाइल सेटको गैरकानूनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरूत्साहित गर्न यो प्रणाली लागू गरिएको प्राधिकरणले जनाएको छ। यो प्रणाली लागू भएसँगै चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ र ब्लकिङ गरी नेपालभित्र त्यस्ता मोबाइल नचल्ने बनाइनेछ।

यो प्रणाली कार्यान्वयनमा गएसँगै अब नेपाल भित्रिने सबै मोबाइल फोनहरू दर्ता गर्नु पर्नेछ। दर्ता नभएका मोबाइल फोनमा सिमकार्डले काम गर्ने छैनन्। यद्यपि, आजसम्म सञ्चालनमा आएका मोबाइल फोन भने दर्ता गर्नु नपर्ने प्राधिकरणले जनाएको छ।