महिलामाथि हुने सबै खाले हिंसा रोकथाम गर्न र आत्मनिर्भर बनाउन सीप र क्षमताको विकासको खाँचो रहेको सरोकारवालाहरूले बताएका छन् । १ सय १२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गोदावरी नगरपालिका–१३, झरुवाराशीमा आयोजित कार्यक्रमका सहभागीहरूले महिलाहरूको क्षमता विकास र आत्मनिर्भरता अभिवृद्धिका निम्ति सहकारी र नागरिक संस्थाको सहकार्य हुनु पर्ने खाँचो औँल्याइएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को सहकार्य र नारी उत्थान महिला विकास सहकारी संस्था लिमिटेडको आयोजनामा ०७८ फागुन २४ गते सम्पन्न कार्यक्रममा महिला अधिकारकर्मी विमला घिमिरेले समाजमा बुहारी मायामा साथी, यात्रामा सारथि हुने भएकोले छोरी र बुहारीलाई समानरूपले हेर्नु पर्ने बताउनुभयो । ८२ वर्षीया जानुका ढकालले पहिले बाल विवाहका कारण महिलाले बोल्न नपाएको उल्लेख गर्दै शिक्षाले समानताको अवसर सिर्जना गर्ने बताउनुभयो ।
नारी उत्थान सहकारीका कोषाध्यक्ष नर्वदा आचार्यले पढ्दैमा बुहारीले अरुलाई नराम्रो नगर्ने उल्लेख गर्दै सबै महिलाले माइती छोडेर अर्को घरलाई आफ्नो घर बनाउने परम्परा रहेको बताउनुभयो । सहकारीकर्मी शारदा घिमिरेले स्थानीय सरकार आएपछि बढाउँदै लग्नुपर्नेमा महिला तथा लक्षित वर्गका बजेट कार्यक्रम कटौती गरिएको दुःख व्यक्त गर्नुभयो ।
स्थानीय अन्जु आचार्यले दुखःसुख जिन्दगीको महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै राजधानीको नजिक भएर पनि झरुवाराशी वासीहरू यातायात सुविधाबाट वञ्चित भएको बताउनु भयो ।कार्यक्रमका सहभागीहरूले महिला तथा पिछडिएको जाति, वर्ग, क्षेत्र र समुदायका निम्ति सङ्घ, प्रदेश र स्थानीय सरकारले ठोस कार्यक्रमहरू ल्याउन नसक्दा समुदायमा निराशा बढेको टिप्पणी गरेका छन् ।
इन्सेक ललितपुर प्रतिनिधि दीपकप्रसाद घिमिरेले अन्तर्राष्ट्रिय नारी दिवसका ऐतिहासिक पक्षका बारेमा जानकारी गराइएको थियो । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।
सन् २०२२ को दिवसको अन्तर्राष्ट्रिय नारा ‘दिगो भविष्यका लागि लैंगिक समानता’ रहेको छ भने नेपालमा ‘सामाजिक न्याय र लैंगिक समानताः दिगो विकासको सुनिश्चितता’ भन्ने नाराका साथ यो दिवस संसार भर विविध कार्यक्रमका साथ मनाइयो । सन् १९०९ मा संयुक्त राष्ट्र निर्णय अनुसार सन् १९१० मा कोपेनहेगनमा भएको दोस्रो अन्तर्राष्ट्रिय महिला सम्मेलनले ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसको रुपमा मनाउन थालिएको हो ।