काठमाडौँ । नेपाल आयल निगमलाई इण्डियन आयल कर्पोरेसन लिमिटेड (आईओसी) ले इन्धनको मूल्य पुनः बढाएर पठाएको छ । बिहीबार प्राप्त नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य लिटरमा ६ रुपैयाँ ५२ पैसाले बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।
यस्तै, डिजेलको मूल्य प्रतिलिटर १९ रुपैयाँ ३ पैसा र हवाई इन्धनको मूल्य प्रतिलिटर १९ रुपैयाँ ९१ पैसाले वृद्धि भएर आएको निगमले जनाएको हो ।
नयाँ मूल्यसूचीअनुसार पेट्रोलको खरिद लागत २०९ रुपैयाँ २८ पैसा पुगेको छ । हाल पेट्रोलको खुद्रा बिक्री मूल्य १७८ रुपैयाँ रहेकोमा प्रति लिटर पेट्रोलमा ३१ रुपैयाँ २८ पैसा घाटा रहेको निगमले जनाएको छ ।
यस्तै, डिजेलको खरिद लागत बढेर २०२ रुपैयाँ पुगेको छ भने डिजेको खुद्रा बिक्री मूल्य १६५ रुपैयाँ रहेको छ । डिजेलमा प्रतिलिटर ३७ रुपैयाँ १६ पैसा घाटा रहेको निमगले जनाएको छ । एलपी ग्याँसको खरिद लागत यथावत छ ।
नयाँ मूल्यसूची अनुसार समग्रमा निगमलाई आगामी १५ दिनमा करिब ४ अर्ब ८१ करोड र मासिक घाटा ९ अर्व ६३ करोड पुग्ने अवस्था रहेको निगमले जनाएको छ ।