दिगो दृष्टि समाचारदाता
ललितपुर /ललितपुर महानगरपालिका वडा नम्बर २४ धापाखेलस्थित नागदहमा भदौ ४ गते सोमबार लाग्ने नाग पञ्चमी मेलाको तयारी पूरा भएको छ ।
मेला आयोजक मूल समारोह समितिका संयोजक एवम् ललितपुर महानगरपालिका वडा नं. २४ का अध्यक्ष दिनेशजंग पाण्डेका अनुसार मेलाको पूर्व तयारी पूरा भएको जानकारी दिनु भयो । मेला आयोजक मूल समारोह समितिका सह–संयोजक एवम् २३ नम्बर वडाका अध्यक्ष जीवन महर्जनका अनुसार भदौ ३ गते मध्यान्हसम्ममा सातदोबाटो धापाखेल सडकमा देखिएका खाल्डा खुल्डी पुर्ने काम भइसकेको छ ।
ललितपुर महानगरपालिका वडा नं. २४ मा रहेको नागदहस्थित बासुकी नाग मन्दिरमा हरेक वर्षको साउन शुक्ल पञ्चमीका दिन नागपञ्चमी मेला मनाउने गरिन्छ। मेलालाई केन्द्रित गरेर सरसफाई, बाटोको खाल्डाखुल्डी पुर्ने, नागदह छेउमा रहेको नाग मन्दिरलाई रंगरोगन गर्ने काम सम्पन्न भइसकेको छ । नाग मन्दिर वरपर ध्वजा–पतकाले सिंगार्ने काम भइ सकेको रंग रोगन तथा ध्वजा पताका व्यवस्थापन उप समिति संयोजक महेश गिरीले जानकारी दिनुभयो ।
मेला आयोजक मूल समारोह समितिका संयोजक एवम् ललितपुर महानगरपालिका वडा नं. २४ का अध्यक्ष दिनेशजंग पाण्डेका अनुसार दहको बाहिरी भागमा रहेको फोहोर–मैला नेपाली सेनाको राजदल गण, नेपाल प्रहरी, वडाका महिला समूह, सिर्जनशिल फोहोरमैला सरसफाई समूह र स्थानीयको सहभागितामा व्यवस्थापन गरिएको छ ।
मेलाका दिन बिहान ३ बजेदेखि नै भक्तजनहरुलाई दर्शनको व्यवस्था गरिने मूल समारोह समितिले जानकारी दिएको छ । नागपञ्चमी मेलाका लागि महानगरपालिकाको सांँस्कृति र पर्यटन शाखाले ध्यान दिनुपर्ने धापाखेलवासीले बताए ।
मेला व्यवस्थापनका लागि विभिन्न १० वटा उपसमिति बनाइएको छ । मूल समारोह समिति २४ नं. वडा अध्यक्ष, ललितपुर महानगरपालिका संयोजक दिनेश जङ्ग पाण्डे, सह संयोजक २३ नं. वडा अध्यक्ष जीवन महर्जन रहनु भएको छ ।
पूजा व्यवस्थापन उप समिति संयोजकमा डोलप्रसाद पराजुली, रंग रोगन तथा ध्वजा पताका व्यवस्थापन उप समिति संयोजक महेश गिरी, प्रचार प्रसार उप समिति संयोजकमा २४ नं. वडा सदस्य इन्द्रा श्रीस राना रहनु भएको छ ।
सरसफाई उप समिति संयोजकमा २४ नं. वडा सदस्य हरिकृष्ण महर्जन, सवारी व्यवस्थापन उप समितिको संयोजन प्रहरी प्रभाग धापाखेलले गर्ने मूल समारोह समितिले जानकारी दिएको छ ।
त्यसै गरी स्वयम् सेवक परिचालन उप समिति संयोजक किरण श्रेष्ठ, अतिथि सत्कार उपसमिति संयोजकमा २४ नं. वडा सदस्य निशा माल्बुल, सह संयोजक २३ नं. वडा सदस्य मधु सिंह ठकुरी रहनु भएको छ । भोजन व्यवस्थाप उप समिति संयोजकमा २४ नं. वडा सदस्य उद्धब बस्नेत र सह संयोजकमा २३ नं. वडा सदस्य राजन मल्ल ठकुरी रहनु भएको मूल समारोह समितिले जनाएको छ । बाजागाजा उप समिति संयोजक किरण महर्जन र सह संयोजक निरज माली रहनु भएको मूल समारोह समितिले जानकारी दिएको छ ।
नाग पञ्चमी मेलाको लागि नाग मन्दिर नजिकै रहेको स्वर्गीय राम गिरीको घरबाट नाग दहमा पित्तलको नागको प्रतिमा नागदहमा ल्याइने गरिन्छ र त्यसलाई पूजा गरिन्छ । दिनभर पूजा गरिसके पछि सो प्रतीमालाई बाजासहितको टोलीले स्वर्गीय गिरीकै घरमा लगेर राखिने गरिन्छ ।
नागलाई रिझाए राम्रो हुने जनविश्वास अनुसार यहाँ वासुकी नागको पूजाआजा गरिन्छ । मेला भर्न उपत्यका र त्यस आसपासका जिल्लाबाट भक्तजनहरु आइ दहमा स्नान गर्नुका साथै विभिन्न भाकल गरी नाग मन्दिरमा पूजा गर्ने तथा दर्शन गर्ने चलन रहेको प्रचार प्रसार उप समिति संयोजक इन्द्रा श्रीसले बताउनु भयो ।
लगनखेलबाट करिब ५ कि.मी. दक्षिणतर्फ धापाखेलमा रहेको नागदह ५२ रोपनी क्षेत्रफलमा फैलिएको प्राकृतिक दह भएको स्थानीय अग्रजहरु बताउछन् । नागदहको गहिराई समग्र कति छ भन्ने एकीन गर्न नसकिए पनि केही वर्ष अघि इन्जिनियरिङका विद्यार्थीले गरेको अध्ययनले समग्रमा २५ फिट भए पनि बीच भागमा ४१ फिटभन्दा गहिराइ रहेको बताइएको छ । दहको चौडाई ९ सय ३७ मिटर रहेको समितिले जानकारी दिएको छ ।
परापूर्वकालमा तालको रुपमा रहेको काठमाडौँ उपत्यकाको पानी चोभारको गल्छीबाट पठाइएपछि स्वतः निर्मित दहको आफ्नै छुट्टै महत्व रहेको छ । आदिकालमा काठमाडौँ उपत्यकाका तीन सहर जलमय भइरहेको बेलामा मञ्जुश्रीले चोभार र बाँडेगाउँको पहाडलाई तान्त्रिक विधिबाट छेदन गरी पानी बाहिर पठाएको किम्वदन्ती छ ।
त्यसरी पानी बाहिर पठाउँदा नाग राजा पनि बाहिर जाने भएकाले दह बनाएर नागराजालाई राखिएको र त्यही दह धापाखेलस्थित नागदह भएको इतिहास सम्बन्धी पुस्तकहरुमा उल्लेख भएको पाइन्छ।