दिगो दृष्टि समाचारदाता
ललितपुर ०८० असोज २८ गते आइतबार
दक्षिण ललितपुर समाजको १९ औं वार्षिक साधारणसभा एवम् शुभकामना आदानप्रदान कार्यक्रम ०८० असोज २८ गते आइतबार घटस्थापनाका दिन सम्पन्न भएको छ । प्रतिनिधि सभा ललितपुर क्षेत्र नं. १ का सांसद उदय सम्सेर जबराको प्रमुख आतिथ्यता, बागमती प्रदेशसभाका उपसभामुख अप्सरा चापागाईको विशेष आतिथ्यता र समाजका अध्यक्ष रामशरण शर्माको सभाध्यक्षतामा सभा सम्पन्न भएको थियो । समाजका महासचिव रामशरण दाहालले सञ्चालन गर्नु भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा पूर्व अर्थराज्य मन्त्री उदयसम्शेर राणाले दक्षिण ललितपुरलाई उपत्यकासँग जोड्ने गरी विकास गर्न दक्षिण पूर्वी ललितपुरबाट काभ्रेहुँदै तराईसँग जोड्ने सडक निर्माण हुनु पर्नेमा जोड दिनुभयो ।
बागमती प्रदेश सभाका उप सभामुख अप्सरा चापागाईले दक्षिण ललितपुरमा जन्मिएर सदरमुकाम आसपास आएर पेसा, व्यवसाय गरेर बस्नेहरुले जन्मथलोको विकास र समृद्धिका लागि देशकै उदाहरणीय समाज बनाइ रहेको पाएको बताउनु भयो । उहाँले गाउँमा बस्ने र सहरमा बस्नेको एकीकृत भावनाले मात्र समुदायको समृद्धि र विकास हुनेमा जोड दिनुभयो ।
संविधान सभा सदस्य तथा निवर्तमान प्रदेशसभा सांसद राजकाजी महर्जनले आफ्नो कार्यकालमा मलामि गुठी, किरियापुत्रि भवन निर्माणमा सहजिकरण गरेको स्मरण गर्दै २०४९ सालमा दक्षिण ललितपुरका गाउँमा घुम्ने अवसर पाएको बिगतले त्यहाँबाट सहरमा आएर बस्नु भएका दाजुभाइ दिदीबहिनीहरुले गरेको मिहेनत र सदरमुकाम आसपासमा बसोबास गरी स्थानीयवासीसँग गरेको सहकार्यको प्रसंसा गर्नुभयो ।
उहाँले आप्mनो कार्यकालमा हरेक वर्ग र समुदायको आवश्यकताका आधारमा गुठिदेखि सामुदायिक भवनका साथै खेल मैदान, कर्भड हल निर्माणका लागि आवशयक बजेट व्यवस्था गर्न सहजीकरण गरेको स्मरण गर्दै दक्षिण ललितपुर समाजको भवन निर्माणका लागि पनि सोही कार्य गरेको स्मरण गर्नुभयो ।
दक्षिण ललितपुर समाजका पूर्व अध्यक्ष एवम् महाङ्काल गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसीले समाजको विकास चरणसङ्गै ललितपुरको शंखु निवासी तेजप्रसाद घिमिरेले ३ आना जग्गा दान गर्नु भए पछि बागमती प्रदेश सरकारबाट सहयोग प्राप्त भएर नै दक्षिण ललितपुर समाजको भवन बनेको जानकारी दिनुभयो ।
ललितपुर महानगरपालिका वडा नं. २६ सुनाकोठीका वडा अध्यक्ष शुरेश महर्जनले दक्षिण ललितपुर समाज र सुनाकोठीवासीबीचको सहकार्यबाट समुदायको समृद्धि र विकासमा टेवा पुग्ने विश्वास गर्नुभयो । उहाँले समुदायका सबैले सिकेको सीप, अनुभव र शिक्षालाई आपसमा छलफल गरी विकास गर्न सहकार्यका लागि आग्रह गर्नुभयो ।
सभामा समाजका अध्यक्ष रामशरण शर्मा घिमिरेले प्रगति प्रतिवेदन पेश गर्नु भएको थियो । कार्यक्रममा विभिन्न विधामा सम्मान गर्नुका साथै समाजका सदस्य तथा परिवारका सदस्यहरुलाई विद्यावारिधी गरेकोमा शैक्षिक सम्मान गरिएको समाजका सचिव दिपेन्द्र दुलालले जानकारी दिनुभयो ।
समाजको विकास एव योगदान लगायतका क्षेत्रमा ८ जनालाई सम्मान गर्दै पेश भएका प्रतिवेदन पारित गर्दै साधारणसभा समयमा नै सम्पन गरिएको महासचिव रामशरण दाहालले बताउनु भयो ।