काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि सोमबार साँझ ७ बजेसम्म रहेको मनोनयन दर्ता प्रक्रिया सकिएको छ ।
सभापतिमा गगन थापासँगै तीन जनाको उम्मेदवारी दर्ता हुँदा वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसालको मात्र उम्मेदवारी परेर निर्विरोध भएका छन् । सभापतिदेखि सहमहामन्त्रीसम्मका विभिन्न पदमा ठूलो सङ्ख्यामा उम्मेदवारी परेसँगै नेतृत्वका लागि प्रतिस्पर्धा कडा हुने देखिएको छ ।
सभापति पदमा गगनकुमार थापासँगै पूर्वसहमहामन्त्री किशोरसिंह राठौर र श्यामकृष्ण खड्कीबीच प्रतिस्पर्धा हुने भएको छ । वरिष्ठ उपसभापति पदमा भने विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन् । दुई उपसभापति खुला पदका लागि नौ जनाको उम्मेदवारी परेको छ । डा। चन्द्रमोहन यादव, सुरेन्द्रराज पाण्डे, डा.मिनेन्द्र रिजाल, गोविन्द भट्टराई, देवराज चालिसे, मधुप्रसाद आचार्य, धनराज गुरुङ, दीपक गिरी र डा। चन्द्र भण्डारीले उम्मेदवारी दिएका छन् ।

समावेशी उपसभापतिको एक पदका लागि विनोद चौधरी, फरमुल्लाह मन्सुर, जीवन परियार, रञ्जित कर्ण र सीता गुरुङले उम्मेदवारी दिएका छन् । महिला उपसभापतिको एक पदमा पुष्पा भुसालको मात्रै उम्मेदवारी परेको छ । अन्य उम्मेदवारी नपरेपछि भुसाल पनि निर्विरोध भएकी हुन् ।
महामन्त्री पदमा पनि प्रतिस्पर्धा हुने भएको छ । महिलातर्फको एक पदका लागि डिला संग्रौला, रिता खनाल र महालक्ष्मी उपाध्याय ‘डिना’ले उम्मेदवारी दिएका छन् । खुलातर्फका दुई महामन्त्री पदका लागि शंकर तिवारी, सुनिल शर्मा, नैनसिंह महर, प्रदीप पौडेल, गुरुराज घिमिरे, अमरसिंह पुन, उदयशमशेर राणा र सन्तोष उपाध्यायले उम्मेदवारी दिएका छन् ।
सहमहामन्त्रीका विभिन्न समावेशी समूहमा पनि प्रतिस्पर्धा हुने भएको छ । खसआर्यतर्फ एक पदका लागि जगदीशनरसिंह केसी, मनोजमणि आचार्य र शुभराम बस्नेतको उम्मेदवारी परेको छ । आदिवासी जनजातितर्फ बहादुरसिंह लामा र तारामान गुरुङबीच प्रतिस्पर्धा हुने भएको छ । मधेसीतर्फ महेन्द्र यादव, अजय चौरसिया, नागिना यादव, किरण यादव, अभिषेक प्रताप साह, रामपल्टन साह, मनिषकुमार मिश्र र मुक्तकुमारी यादवले उम्मेदवारी दिएका छन् ।
दलित सहमहामन्त्रीको एक पदका लागि नरेन्द्र पासवान, प्रकाश रसाइली, लक्ष्मी परियार र मानबहादुर नेपाली चुनावी मैदानमा छन् । थारु सहमहामन्त्रीमा तेजुलाल चौधरी, योगेन्द्र चौधरी र सुरेन्द्रप्रसाद चौधरीले उम्मेदवारी दिएका छन् । अल्पसङ्ख्यक तथा अपाङ्गता समूहबाट नगेन्द्र कुमाल, योगेश गौचन र आंगेलु शेर्पाले उम्मेदवारी दिएका छन् ।
मुस्लिमतर्फको एक सहमहामन्त्री पदका लागि फिर्दोस आलम, अब्दुल सतार र अहतर कमल मुसालमानबीच प्रतिस्पर्धा हुने भएको छ । सहमहामन्त्री खुलातर्फ अमृत अर्याल, रामहरि खतिवडा, अजयबाबु शिवाकोटी, दिनेश कोइराला, विमलराज क्षेत्री, देवेन्द्रराज कँडेल र डिल्लीराम सुवेदीले उम्मेदवारी दिएका छन् ।
पिछडिएको क्षेत्रतर्फ पनि एक पदका लागि सात जनाको उम्मेदवारी परेको छ । कर्णबहादुर बुढा, जनकराज गिरी, मीन भाम, नारायणप्रसाद भट्टराई, राजन कुँवर, जीवनबहादुर विष्ट र रामबहादुर विष्टले उम्मेदवारी दिएका छन् । महिला सहमहामन्त्रीको एक पदका लागि नानु बस्तोला र प्रतिमा गौतमबीच प्रतिस्पर्धा हुने भएको छ ।
मनोनयन दर्तासँगै कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि औपचारिक प्रतिस्पर्धा सुरु भएको छ । केही पदमा निर्विरोध नेतृत्व चयन भए पनि अधिकांश महत्त्वपूर्ण पदमा धेरै उम्मेदवार मैदानमा उत्रिएपछि निर्वाचन थप रोचक बनेको छ । उम्मेदवारी दर्तापछि नेताहरूले आफ्नो सचिवालय बनाएर प्रचारका काम अघि बढाएका छन् ।
