रुकुम पश्चिम । प्रहरीमाथि हातपात गरी सरकारी काममा बाधा अवरोध गरेको आरोपमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–३ का वडाध्यक्ष केशरमान विक पक्राउ परेका छन्।
अभद्र व्यवहारसम्बन्धी जाहेरी परेका उनका भाइ वीरेन्द्र विकलाई पक्राउ गर्न खोज्ने क्रममा वडाध्यक्ष केशरमानले प्रहरी टोलीसँग विवाद गर्दै गालीगलौज र धकेलाधकेल गरेका थिए। त्यसक्रममा उनले आफ्ना भाइलाई प्रहरीको नियन्त्रणबाट भगाएको र ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गर्नुका साथै कपडासमेत च्यातिदिएको प्रहरीले जनाएको छ।
वीरेन्द्र विकविरुद्ध अभद्र व्यवहारसम्बन्धी किटानी जाहेरी परेपछि प्रहरीले उनको खोजी गरिरहेको थियो। उनी मुसिकोट नगरपालिका–१ खलंगा बजारमा लुकीछिपी बसेको सूचनाका आधारमा मंगलबार बिहान प्रहरी टोली खोजतलासमा खटिएको थियो।
