काठमाडौं । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बनमा परेपछि उनी निलम्बनमा पर्नुको कारणसँग सम्बन्धित अन्य सुरक्षाकर्मी हतोत्साहित छन् ।
‘सूचना चुहावट’ को आरोप लागेका एआईजी दाहालले जुन विषयको सूचना जो व्यक्तिमार्फत चुहावट गरेका थिए, ती व्यक्तिसँग नेपाल प्रहरीका केही विशिष्ट श्रेणीका कर्मचारीको पनि सम्पर्क भेटिएको उच्च स्रोतले जनाएको छ ।
विभिन्न मुद्दामा पुर्पक्षका लागि थुनामा राखिएका व्यवसायी दीपक भट्टलाई थुनाबाहिर ल्याउनका लागि विभिन्न किसिमका गतिविधिमा एआईजी दाहाल संलग्न भएको सूचनाका आधारमा उनी निलम्बनमा परेका हुन् ।
असोज ११ गते बाँसबारीस्थित घरबाटै पक्राउ परेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा पनि भट्ट प्रकरणकै विषयमा चलखेल गरेको आरोपका साथ पक्राउ परेका थिए ।
उनले सर्वोच्च अदालतमा दायर भएको संसद विघटनसम्बन्धी रिटमा ‘चलखेल’ गर्ने सूचनासमेत पाएपछि रातारात पक्राउ गरिएको थियो ।
पक्राउलगत्तै ज्वाइँ नाता पर्ने एआईजी दाहाल उनलाई पक्रिएर राखिएको टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेका थिए । उनी त्यहाँ पुगेको केही समयपछि चोलेन्द्र पक्राउको खबर फैलिएको थियो । तर, कारण यत्तिमा मात्रै सीमित रहेन ।
व्यवसायी भट्टलाई थुनाबाट निकाल्ने काममा ‘मध्यस्थकर्ता’ बनिरहेका नेपालीमूलका अमेरिकी ग्रीनकार्ड होल्डर इनाम सापकोटा र पूर्वप्रधानन्यायाधीश राणाबीच बरोबर सम्पर्क देखिएको थियो । उक्त सम्पर्कको माध्यम व्यक्ति एआईजी दाहाल थिए । तर, सापकोटाको सम्पर्क एआईजी दाहालजत्तिकै नेपाल प्रहरीका केही उच्च पदस्थ अधिकारीसँग पनि देखिएको स्रोतले जनाएको छ ।
राणा पक्राउलगत्तै दिल्ली जान लागेका सापकोटालाई प्रहरीको विशेष व्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबा नियन्त्रणमा लिएको थियो । अहिले उनी अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रहरी परिसरको हिरासतमा छन् ।
सापकोटाबाट नियन्त्रणमा लिइएको उनको मोबाइलमा रहेको ह्वाट्सयाप अकाउन्टबाट सम्पर्क भएका व्यक्ति पहिचान हुने क्रममा एआईजी दाहाल पहिलो निशाना बनेका हुन् । भट्टपक्षीय चलखेल बढेपछि सरकारले उनलाई काठमाडौंबाट सिन्धुपाल्चोक कारागार चलान गरेको छ ।
अनुसन्धानरतस्रोतका अनुसार पूर्वप्रधानन्यायाधीश राणा, एआईजी दाहालमात्रै यो कसुरमा सक्रिय थिएनन्, नेपाल प्रहरी र अन्य क्षेत्रका केही मानिसको पनि सक्रियता थियो । सापकोटाको मोबाइल अहिले पनि प्रहरीको डिजिटल फोरेन्सिक ल्याब (डिएफएल) सँग छ ।
उसले मोबाइलबाट उपलब्ध हुने सूचनाको संकलन र विश्लेषण गरिरहेको स्रोतको भनाइ छ । डिएफएलमा कार्यरत प्रहरी प्राविधिकले प्राप्त सूचना ‘दिनुपर्ने ठाउँमा’ दिइरहेका छन् ।
के हुनसक्छ एआईजी दाहालमाथि कारवाही ?
निलम्बनको भोलिपल्ट, अर्थात् मंगलबार सशस्त्रका अर्का एआईजी अञ्जनीकुमार पोखरेललाई दाहालमाथि छानवीन गर्ने जिम्मेवारी दिइएको छ । उनले तीन दिनभित्र आवश्यक छानवीन गर्नुपर्ने र उनकै प्रतिवेदनका आधारमा कारवाही अगाडि बढाइने गृह मन्त्रालयस्रोतले जनाएको छ ।
असोज २८ मा सशस्त्र प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) को चार वर्षे पदावधि पूरा गर्न लागेका एआईजी दाहालको त्यसअगावै म्याद थप नभए अनिवार्य अवकासमा जानुपर्ने अवस्था छ ।
उनको म्याद थपका लागि सशस्त्र प्रहरी बलबाट गृह मन्त्रालयमा सिफारिस पुगिसकेको थियो । तर, त्यसअघि नै गम्भीर अभियोगमा पदबाट निलम्बित भएका कारण सामान्यतया उनको म्याद थप हुने सम्भावना टरेको छ ।
सुरक्षा निकायको कर्मचारीले सूचनाको चुहावट गर्नु गम्भीर अपराध मानिन्छ । त्यसउपर फौजदारी अभियोगसमेत आकर्षित हुने सम्भावना रहेको स्रोतले जनाएको छ ।
फौजदारी अभियोगमा उनीमाथि कारवाही हुने स्थिति आएमा उनलाई अवकाशपूर्व नै सेवाबाट बर्खास्त गर्ने तयारी छ । यदि फौजदारी अभियोग सिफारिस नहुने भएमा पनि सेवाबाट बर्खास्त गर्नुपर्ने दबाब गृह मन्त्रालयको छ ।
फौजदारी अभियोग आकर्षित हुने भएमा उनलाई थुनामा राखेर मुद्दा चलाइने स्रोतले जनाएको छ । बर्खास्तमात्रै भएमा उनी थुनामा नपर्नसक्छन् । तर, उनले अवकाशपछि पाउनु निवृत्तिभरण (पेन्सन) भने स्वतः रोक्का हुन्छ ।
